कमल सार्कीलाई सहयोग गर्ने हातहरुको खाचो छ ।

लेखक - मेघराज सापकोटा

मेघराज सापकोटा ।
सपना देख्नु पर्छ भन्छन नि। बिपनामा केही गर्न सपना देख्नै पर्ने रे ! लाउँ लाउँ र खाउँ खाउँको उमेरमा कमलले देखेको सपना भने अधुरै रहने भयो । उनी अहिले रस अल खैमहको एक अस्पतालको शैयामा मृत्‍युसँग पौठेजोरी खेल्दैछन ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट झण्डै ४० किलोमिटर टाढाको एक दुर्गम गाउँ "दिगाम" गाउँ बिकास समिती वडा न ६ मा अवस्थित एक दलित बस्तीमा बुवा सेर बहादुर सार्की र मुमा कान्छीमाया सार्कीको कोखबाट आज भन्दा २२ बर्ष अघी जन्मेका थिए कमल बहादुर सार्की ।

कमलको एक मात्र ठुलो दाजु विवाह गरेर भारत भासिएको आजसम्म अत्तोपत्तो छैन । बाबुआमाले सधैं अर्काकै बनिबुतो गरिरहनु पर्ने । सधैं अर्काकै हलो कोदालो गरिरहनु पर्ने । अर्काको खेती गरेर बिहान बेलुकीको हातमुख जोर्नु पर्ने । यस्तै थियो कमलको घर । अबिकसित गाउँ । कमलको घर मात्र हैन गाउँ नै यस्तै छ । सार्कीहरु मात्र भएको दलित बस्ती । पढालेखा नभएको गाउँको बिकास कसले गरिदिने ? हो त्यही गाउँ हो जसले कहिले काङ्रेसलाई जितायो,  कहिले एमाले त कहिले माओवादीलाई । उनीहरुको भोट्ले नेताले जिते तर त्यो गरीब गाउँ भने सधैं हारिरहयो । थाहा छैन कहिले सम्म हारिरहनु पर्ने हो । राजनैतीक परिवर्तनको लागि सार्की गाउँले धेरै रगत पसिना बगायो तर परिवर्तनको मुख कहिल्यै देख्न पाएन । नेताको बिकास भयो कि भएन तर खै गाउँले बिकास देखेन । अली अली राजनिती बुझ्ने गाउँका दौतरीहरु सबै बिदेशमा छन । कमल एक्लैले के गर्ने ?
बिरामी कमल बहादुर सार्की (तस्विर - उज्यालो )
बेलुकीको समय खाना खाएर ओछ्यानमा ढल्कने बेला हुँदै थियो । ५० को नेटो काटेका सेर बहादुरले छोरो कमललाई सार्की गाउँबाट बिदेश गएर २-४ पैसा कमाउने तन्नेरीहरुको बयान सुनाउन थाले । फलानोले यती कमायो रे, ढिस्कानाले यती कमायो रे, घडी किनीदियो रे, ब्ल्यान्केट पठायो रे, जग्गा जोड्यो रे, घर बनाउँछ रे यस्तै यस्तै । शान्त स्वभाबका कमल सुनिरहे । दाजुले अन्तरजातिय विवाह गरेपछी भारत भासिएको पिडा सेरबहादुरलाई छंदैथियो । त्यो भन्दा बढी पिडा त दाजुले फर्केर घर नहेरेको थियो । कान्छो छोरो कमल भर्खर २१ मा हिड्दै थिए । यो लाउँ लाउँ र खाउँ खाउँको उमेरमा घरको बोझ बोक्नुको बिकल्प अरु के नै थियो र ? अन्तत उनी पनि बिदेशको चक्करमा लागे ।

गाउँकै एक जना आफन्त दाईले उनलाई दुबई आउन प्रस्ताब् गरे । १० तिर मन बरालिदै दलाललाई पैसा खुवाएर बिदेसिनु भन्दा त आफ्नैले भनेको सुन्नु नै बेश । दलालको के भर?  आफ्नालाई त विश्वास गर्नै पर्‍यो । उनले रिनपान गरेर पैसा जुटाए तिरेर दुबई हुईकिए । फ्री भिसा र फ्री टिकट लागु भएन उनलाई । एअरपोर्ट सेटिङ भन्दै आफन्तले २ लाख लिए रे । उनलाई ल्याउने आफन्त भन्छन - एअरपोर्ट सेटिङमा मात्र १२० हजार खुवाएको हजुर ।

भन्न त नेपालबाट युएई आउने सबैले दुबई आएको भन्छन । युएईको अनकन्टार दुर्गमलाई पनि दुबई नै भन्छन नेपालमा त । उनलाई पनि त्यस्तै भो । उनी दक्षिण भारतीयले भरखर खोलेको रस अल खैमहको एउटा सानो रेस्टुरेन्टको कामदार बन्न पुगे । महिनाको ११ सय तलब दिने सर्तमा । दु:ख सुख काम चल्दै थियो । कहिले कही तलब समयमै थाप्थे त कहिले अली ढिला ।

हो उनै कमल अहिले अस्पतालको शैयामा एक्लै दिन बिताइरहेका छन । आज भन्दा १३ दिन पहिले उनी बेहोसी अवस्थामा अस्पताल पुर्याईएका थिए । उनलाई देख्नेहरु भन्छन उनको धुकधुकी मन्द थियो । त्यसो त केही दिन पहिले देखी नै उनलाई बिसन्चो थियो । एक दिन उनी चिच्याए र आफ्नै कोठामा ढले । साथीहरु र आफ्नै मालिक मिलेर उनलाई अस्पतालको इमर्जेन्सीमा पुर्याईयो । भेन्टिलेटरमा राखेर उपचार गरियो । उनी तीन दिन सम्म बेहोसीमै रहे । उनको बारेमा कसैलाई अत्तोपत्तो रहेन । उनी फर्केलान कि नफर्केलान भन्दै गर्दा तेस्रो दिन मात्र उनले आँखा खोलेको उनका मालिक बताउछन । उनको बारेमा साथीभाइ नातागोता सबै बेखबर थिए भने उनी मृत्‍युलाई जित्ने प्रयास गर्दै थिए ।

के भएको हो उनलाई ?

मेडिकल रिपोर्ट अनुसार उनलाई हाईपर अर्जेन्सी (HTN Urgency or Malignant Reno vascular Hypertension) भएको भनिएको छ । यो यस्तो अवस्था हो जुन बेला मानिसको प्रेसर बढेर १८० भन्दा बढी भएको हुन्छ । मानिस बेहोस् हुन्छ, आँखा बन्द हुने र दुबै मृगौलाले काम नगरेको अवस्था हुन्छ । शरीरका अन्य अङगहरु समेतले राम्ररी कार्य गर्न सकेको हुँदैनन । नाक बाट रगत बग्न सक्छ । हामी यसलाई हाम्रो बुझ्ने भाषामा हर्ट एट्याक पनि भन्छौ । सुन्नेहरुले उनलाई ३४० भन्दा बढी प्रेसर भएको अवस्थामा अस्पताल पुर्याइएको थियो भन्छन । छोटो समयमा नै अस्पताल नपुर्याएको भए मृत्‍यु नै अन्तिम बिकल्प थियो । उनलाई भएको यही हो तर उनी छिट्टै नै अस्पताल पुर्याइए र बाँचे ।

अहिले उनको दुबै मृगौलाले राम्ररी काम नगरेको अवस्था छ । हप्ताको २ पल्ट डायलसिस गरिरहेको अस्पताल श्रोतले बताएको छ । स्थिती सुधार उन्मुख भए पनि अझै पनि उनी नाजुक अवस्थामा नै छन । मृगौला प्रत्यारोपण नै उनको अन्तिम उपचार रहेको डाक्टरहरु बताउँछन । के उनले मृगौला फेर्न सक्लान ? कसले देला उनलाई मृगौला ? कती पैसा लाग्ला ?

कसले गर्ला उनलाई सहयोग ?

यो लेखक अस्पतालमा पुग्दा अर्घाखाँची संपर्क समितीका रस अल खैमहका अध्यक्ष तमलाल पाण्डे, एनआरएन रस अल खैमहका अध्यक्ष राजेन्द्र रोस्यारा र जनप्रगतिशिल मन्चका जनार्दन सुबेदी भेटिए । हालसम्म पाण्डेले नै उनको रेखदेख गरिरहेका छन । पाण्डेका अनुसार बिरामी कमलले मालिक सँग ३ महिनाको तलब ३,००० जती लिन बाँकी रहेको छ । दुबई आउन को लागि खोजेको २ लाख रिण मध्ये १ लाख भन्दा बढी त तिर्न नै बाँकी छ । ब्याज कती भो हिसाब गर्नै छ । त्यसो भए उनको उपचार कसले गरिदेला ?

त्यसैले कमललाई मनकारीहरुको सहयोगको खाँचो छ । युएईमा खुलेका नेपालीहरुको संघसंस्थाहरुको सहयोगको खाँचो छ । विश्वभरका नेपालीहरुको सहयोगको खाँचो छ । एनआरएनएहरुको सहयोगको खाँचो छ । अब कमलले कुनै सपना देख्नु छैन । उनले बाँच्नु छ ।  उनी बाँच्न चाहन्छन । बचाउने कसले ?

मनकारीहरुको संपर्कको लागि

तमलाल पाण्डे ००९७१-५६ ६८४ ७१००
राजेन्द्र रोस्यारा ००९७१-५० ६७६ ०२३१
जनार्दन सुवेदी ००९७१-५५ ४६८ ६०६०
जय खत्री ००९७१-५० ६२७ ४१५१

( साभार - देशाप्रदेश )

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.