अझै हटेन बालिघरे प्रथा , ५० वर्ष देखि यसैको भर


७ पुस , मंगलबार ।
सल्यान , मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उनले अझै पनि नगदमा कारोबारो गरेका छैनन् । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको परिवार बालीघरे प्रथाबाटै पालन पोषण हुँदै आएको छ ।


गाउँघरमा मेसिन लिएर कपडा सिलाउन जाने खिमलालले परिवार हेरेर अन्न उठाउने, त्यही अन्न लिएर घरमा खाने र बढी भएको अन्न बिक्री गरेर अन्य आवश्यक सरसामान खरिद गर्छन् ।

पुर्खाले गरेको पेसालाई अङ्गाल्दा उहाँमा कुनै पश्चाताप छैन बरु अहिलेका सिलाइ सेन्टरलाई चुनौती दिँदै गाउँका धेरै मानिसका कपडा सिलाउँदा उनमा गर्व लाग्छ । “परिवार हेरेर दुई पाथीदेखि १५ पाथीसम्म वार्षिक अन्न उठाउँछु अहिलेसम्म परिवारको पालन पोषण चलेकै छ” – खिमलालले भने । उनले वर्षभरि १५० घरधुरीका कपडा सिलाउँछन् ।

मूलखोला– ५ कै भद्रबहादुर कामीले आरनको काम गर्न लागेको ४० वर्ष भयो । खिमलालको जस्तै उनले पनि गाउँमा भएका सबै कृषकलाई फलामे औजार पुर्याउँछन् । पाँचजनाको परिवारलाई भद्रबहादुरले यसैगरी पालेका छन् ।

विवाह, पूजाआजा भएको घरमा थप नगद रुपैयाँ र अन्न पाउँछन् भद्रबहादुरले । “छोरीको विवाह हुँदा रु पाँच हजारसम्म इष्टले बुझाउँछन् छोराको भए रु एक हजारसम्म थप पाउँछु” – भद्रबहादुरले भने ।

कोटवारा– ९ का ज्ञानबहादुर परियारको पनि खिमलालको भन्दा कत्ति फरक छैन । तीन गाविसका २६० घरका कपडा सिलाउन लागेको ३५ वर्ष भयो । ज्ञानबहादुरको यही पेसाले छोराछोरी हुर्काए, बढाए । “सुरुमा त प्रतिघर दुई पाथी अन्नले काम चलाउनुपथ्र्यो अहिले भने कहिले नगद र २० पाथीसम्म अन्न पाउँछु”, ज्ञानबहादुरले भने – “पुर्खाले यही पेसा चलाए मैले पनि निरन्तरता दिँदा कुनै दुःख छैन ।”

उनले लुगा सिलाउँदा अहिलेसम्म कसैबाट पनि अपमान सहनु नपरेको बताए । “लुगा सिलाउन जाँदा कहिले गाउँमै मेसिन लिएर दुई तीन महिनासम्म बस्नुपर्छ त्यतिबेला सबैसँग एउटै परिवार भएर बस्दा आनन्द आउँछ” – ज्ञानबहादुरले भने । गाउँमा रहेका ३० घर सबैले बालीघरे प्रथा चलाएर परिवार पालेको उनको भनाइ छ ।

छोराहरू छुट्टिँदा उहाँले आफूले लुगा सिलाउने घरलाई पनि भागबन्डा गरेका छन् । “हामीहरू छुट्टिँदा सबै विष्टहरू बराबर पर्ने गरी भाग लगाउँछौँ र त्यहीअनुसार पछि कपडा सिलाएर अन्न उठाउँछौँ” – ज्ञानबहादुरले भने ।

परम्परादेखि नै बालीघर प्रथालाई निरन्तरता दिएका यी प्रतिनिधि पात्रहरूले भने झैँ पहिले पहिले कामवअनुसारको अन्न नपाए पनि अहिले भने पैसामा रकमान्तर गर्दा कुनै फरक छैन । यही पेसा गरेर कतिपयले त अन्न बिक्री गर्ने गरेको बताउँछन् ।

- राटोपाटिबाट

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.