बहुप्रतिभाका धनी विरेन्द्र कुमार शाह (सफलताको कथा)



सानै उमेरमा उल्लेख्य प्रगती गर्ने व्यक्ती संसारमा कमै भेटिन्छन् । जो त्यस्ता हुन्छन् ,ती समाज र भावी पुस्ताका निम्ति आईडल सरह बन्न पुग्छन् । यसैको उदाहरण बनेका छन् - विरेन्द्र कुमार शाह , १९ ।

"हुने बिरुवाको चिल्लो पात" भने झैँ बाल्यवस्था देखि नै उनको बौद्धिकता र सामाजिक भावनाको बेर्ना निकै  फस्टाएको थियो , चिल्लो थियो । सामाजिक अभियन्ताको रूपमा गाउँबस्ती चहार्दै गर्दा यस पंक्तिकार स्वयंले समेत उनलाई विभिन्न रुप र अवसरमा देख्न पाएको थियो । वास्तवमै उनको सकृयता तारिफयोग्य थियो । आज तिनै भाई विरेन्द्रको बारेमा सफलताको कथा लेख्दैछु ।

उमेरले किशोरावस्थाको संघारमा पुगेका विरेन्द्र कुमार शाहको परिचय धेरै छ । मोरङको अमरदहमा पिता राजेन्द्र र माता प्रमिला देविको कोखबाट १९ वर्ष अघि जन्मिएका विरेन्द्र सोही ठाउँको सुगाहट निमाविमा कक्षा ४ मा पढ्दै देखि सामाजिक क्षेत्रमा लागे ।

शुरूवातमा विध्यालयमा आयोजना गरिने चित्रकला , वक्तृत्वकला , हाजिरिजवाफ लगायतका अतिरिक्त कृयाकलापहरुमा सहभागिता जनाई थुप्रै पुरस्कारगरु प्राप्त गरे । सोही बेला देखि बालबालिकाको क्षेत्रमा सकृय संस्थाहरु प्लान र फरेनको सहयोगमा बाल अधिकार संबन्धी कार्यक्रमहरुमा सहभागी हुन थाले । उनी संगैका साथीहरूले विध्यालय र घरमै सिमित भईरहँदा उनी भने बाल अधिकार संबन्धी थुप्रै कार्यक्रम र तालिमहरुमा सहभागी भएर त्यस विषयमा विध्यालयमा साथिहरुलाई बुझाउन सक्ने भईसकेका थिए । गुरु र साथिभाईका अगाडी उभिएर निर्धक्क बोल्न सक्ने भईसकेका थिए । यसरी बाल क्लवबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका विरेन्द्रको सक्रियताको क्षेत्र अहिले निकै फराकिलो बनेको छ । अधिकारकर्मी , संचारकर्मी , सरसफाई अभियान्ता , अभिनेता , म्युजिक भिडियो निर्देशक हुँदै उनी गितकार समेत बनिसकेका छन ।

गुरु र अग्रजसंग आदारपुर्वक बोल्ने स्वभाव भएका विरेन्द्रसंग सानै देखि साथिभाईलाई मिलाएर नेतृत्व गर्ने खुबी थियो । विध्यालयमा गठन भएको बाल क्लबमा समेत उनले सबै साथिभाईलाई मिलाएर राखेका थिए । सबैलाई सक्रिय बनाएका थिए । स्टेजमा निर्धक्क बोल्न सक्ने हुनाले उनले सानैदेखि माईक्रोफोन समाउन पाए ।

गाविस स्तरिय बाल क्लब संजालको अध्यक्ष भएर समुदायमा बाल अधिकार संरक्षण , बाल विवाह नियन्त्रण , जोखिममा परेका बालबालिकाको उद्दार गर्ने क्रममा उनको पहुँच जिल्लाका सरकारी र अन्य गैह्रसरकारी संस्थाहरुसंग समेत भयो । यसक्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने विराटनगरको संस्था फरेन संग उनी आवद्ध भए र त्यहाँबाट प्रकासित हुने  पत्रीकाको संपादन समुहको सदस्य समेत बने ।

उनको कार्यक्रम संचालन शैली र प्रतिभाबाट प्रभावित भएर रेडियो सुनाखरी ईटहराका स्टेसन म्यानेजर युवराज पौडेलले कार्यालयमा बोलाएर कार्यक्रम चलाउने अवसर दिए । त्यतिबेला उनी १५ वर्षका थिए । रेडियो कार्यक्रम संचालन संबन्धी कुनै औपचारिक तालिम बिनै रेडियो सुनेकै भरमा उनले रेडियो सुनाखरीमा आधा दर्जन कार्यक्रम चलाए तर उनको कुनैपनी कार्यक्रम व्यवसायिक उद्घोषकहरुको भन्दा कम थिएन । बरु तुलनात्मक रूपमा उनी अन्य भन्दा एककदम अगाडि निस्किए । स्रोताले निकै रुचाए । करिब २ वर्ष रेडियो सुनाखरीमा काम गरेपश्चात एसएलसी परिक्षा सकाएर थप अध्यनका निम्ति उनी विराटनगर निस्के ।

यसबीचमा प्लान नेपाल , फरेन , स्थानिय युवा क्लब र सामाजिक संस्थाहरुको सहयोगमा उनले बाल अधिकार , भित्ते पत्रीका प्रकासन , पत्रकारिता , नेतृत्व विकास , क्षमता विकास जस्ता दर्जनौं तालिमहरु समेत लिईसकेका थिए । बाल क्लब हुँदै स्थानीय सुनौलो बिहानी युवा क्लब हसन्दहमा आवद्ध भएर  समुदायमा मानव अधिकार , महिला हिंसा न्यूनीकरण , सरसफाई अभियानमा समेत नेतृत्वदायी भुमिका खेले । हसन्दह गाविसको खुल्ला दिशामुक्त अभियानमा स्वंसेवकको रूपमा उनले खेलेको भुमिका अविस्मरणीय रहेको छ ।

अभियानमा सक्रिय रहँदारहँदै अध्यनका क्रममा गाउँ छोड्नु परेपछी उनी विराटनगर केन्द्रित भए । यद्यपि बिदाको समयमा गाउँ पुगेर सामाजिक कार्यमा लाग्न भने छोडेनन । विराटनगरको आदर्श उच्च माविमा कक्षा ११ मा अध्यनरत विरेन्द्र अहिले विराटनगरको नाम चलेको रेडियो मकालुमा कार्यक्रम चलाउँछन । विभिन्न किसिमका मनोरञ्जनात्मक र समाचारमुलक कार्यक्रमहरु चलाउनुका साथै प्रतिभा (ट्यालेन्ट) भएर पनि बाहिर ल्याउन नसकेकाहरुको लागि सहयोगी माई ट्यालेन्ट शो नामक विशेष कार्यक्रम समेत संचालन गर्दै आएका छन् । जुन रेडियो मकालुमा हरेक शनिबार बिहान १० : १० बजे देखि ११ बजेसम्म सुन्न सकिन्छ ।

यी बाहेक उनी नृत्यमा समेत दक्ष छन । स्टेजमा उनले प्रस्तुत गर्ने नृत्यले दर्शकको निकै वाहवाही र ताली बटुल्ने गर्छन ।

प्रतिभाको अद्भुत खानी रहेका विरेन्द्रले सानै उमेरमा म्युजिक भिडियो निर्देशन गरेर नयाँ पहिचान समेत बनाईसकेका छन । गतवर्ष निर्माण भएको गायक साजन राईको " बाँचुनजेल सम्म " बोलको गितको म्युजिक भिडियोमा उनैले निर्देशन गरेका छन । उक्त म्युजिक भिडियो हेरेर दर्शकले निकै राम्रो प्रतिक्रिया दिएको विरेन्द्र बताउँछन् । त्यस्तै २ वर्ष अघि निर्माण भएको ठूलो पर्दाको चलचित्र "मिस्टेक अफ लाईफ" मा समेत उनलाई देख्न सकिन्छ । उक्त चलचित्रमा छोटो भएपनी निकै महत्त्वपूर्ण र सन्देशमुलक भुमिकामा अभिनय गरेको विरेन्द्र बताउँछन् ।

गितकारको रूपमा नयाँ पहिचान

बाल्यावस्थादेखि किशोरावस्थासम्म आईपुग्दा बहु आयमिक पहिचान बनाउन सफल विरेन्द्रले भर्खरै नयाँ पहिचान समेत बनाएका छन । अधिकारकर्मी , संचारकर्मी , अभियान्ता , अभिनेता , निर्देशक हुँदै उनी गितकार बनेका छन् । उनले हालैमात्रै आफ्नो पहिलो गीति एल्बम "मन" सार्वजनिक गरेका छन ।

गत कात्तिक २६ गते नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा चर्चित कलाकार दिपाश्री निरौला र गायक रामा मण्डलको हातबाट उनको एल्बम विमोचन गरिएको थियो । जसमा उनले लेखेका ५ वटा गितहरु रहेका छन ।उक्त एल्बममा साजन राई , करण धिताल , प्रकृति थुलुङ र प्रकाश श्रेष्ठको स्वर रहेको छ । उनले जीवन र जगतका यथार्थपरक प्रसंगहरुलाई आधुनिक गितको रूपमा उक्त एल्बम भित्र उतारेका छन ।

एल्बम सार्वजनिक भए संगै श्रोता र दर्शकको राम्रो प्रतिक्रिया प्राप्त भएको विरेन्द्र बताउँछन् । मायाप्रेम संग संबन्धित गितहरु भएको हुनाले आफ्नो एल्बम युवापुस्ता माझ निकै लोकप्रिय बन्दै गएको उनी बताउँछन् । उनको गित पुर्वका दर्जनौं एफएमहरुबाट बजिरहेको छ ।

यसरी कम उमेरमै एकपछि अर्को गर्दै विभिन्न विधाहरुमा हात हालेर सफलता हासिल गर्दै गएका विरेन्द्रले चालेका पाईलाहरुले सफलताको सिँढी चढ्दै जाओस । शुभकामना !!!

- २०७२ पौष ३ गते शुक्रवार

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.