नेपालका सरकारी बिदाहरु परिमार्जन गर्नुपर्छ

रामकुमार परियार 
सरकारले हालैमात्र किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मदिन अर्थात हरेक वर्ष कात्तिक २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुन एकदमै सुखद र स्वागतयोग्य कदम हो ।

प्रधानमन्त्री केपि ओलि पांचथर भ्रमणबाट फर्किए लगत्तै त्यहाँका जनतालाई दिएको वचन अनुरुप बिहिबार बसेको मन्त्रीपरिषद बैठकले अब देखि हरेक वर्षको कात्तिक २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री ओलिको यो प्रस्ताव सर्वसम्मतबाट पारित भएपछि जनजाति आन्दोलनको एउटा हिस्साले सफलता प्राप्त गरेको हो ।

हुन त विदाकै कुरा गर्ने हो भने नेपालमा लगभग १०० दिन त सार्वजनिक बिदा नै हुने गर्छ । शनिबारे सार्वजनिक बिदा - ५२ दिन , पर्व बिदा - १५ दिन , दशैतिहार बिदा - १० दिन , राष्ट्रिय बिदा - ७ दिन गरि ८४ दिन सबैलाई लागू हुने बिदा रहेका छन । यसबाहेक महिलालाई मात्रै - ३ दिन , शिक्षणसंस्थालाई मात्रै - १ दिन र संबन्धित जिल्ला र धर्मावलम्बीलाई ५ दिन गरि जम्मा ९३ दिन सार्वजनिक बिदा रहि आएको छ । यसै तालिकामा पुनः २/४ वटा अवसर थपिनु आश्चर्यजनक होईन । न त त्यस्तो कुनै ठूलो उपलब्धि नै । यो त एकहिसाबले सरकार / प्रधानमन्त्रीले भोलिलाई सम्झना दिलाईराख्ने डोब मात्रै खनेको भन्दा अत्युक्ति नहोला ।

अस्वभाविक परिमाणमा बिदा हुनु पक्कै राम्रो होईन । जबकी संसारका महाशक्तिशाली राष्ट्रहरुमा वर्षमा ५ देखि ७ दिन , बढिमा १० दिन सार्वजनिक बिदा हुने चलन रहेको छ । हुन त नेपालले विगतदेखी नै यस्ता आश्चर्यजनक रेकर्डहरु राख्दै आएको छ । त्यसैले यसलाई स्वभाविक मान्न सकिन्छ । राष्ट्रिय सरोकारका मुलभुत विषय र पर्वहरु बाहेक अन्य बहानामा सार्वजनिक बिदा दिईनु राम्रो होईन । तर हामिकहाँ बिना महत्त्वका त्यस्ता कैयन अवसर छन् जसमा सार्वजनिक बिदा हुँदै आएको छ । मान्छे जन्मेको , मरेको , सानो हिस्सा ओगटेको समुदाय विशेषको पर्व र अवसरमा समेत सबैलाई बिदा दिईने गरिएको छ । यसलाई किन्चित  राम्रो मान्न सकिन्न । यसबाट त देशको अर्थतन्त्र उँदोगती तिर धकेलिन्छ । त्यस्तो अवसरमा संबन्धित समुदाय विशेषलाई मात्रै बिदा दिंदा हुने अवस्थामा समेत कार्यालय नै बन्द हुने गरि सम्पुर्ण कर्मचारीलाई छुट्टी मनाउने मौका दिईने गरिन्छ ।

नेपाल एउटा त्यस्तो देश हो जहाँ अनेक जातजाति , भाषाभाषी , धर्मावलम्बी र सम्प्रदायका मानिसहरुको मिश्रित बसोबास छ । हरेकको धर्म - संस्कृतिको आ-आफ्नै पहिचान र महत्त्व रहेको छ । सबैको लागि आफ्नो धर्म,संस्कृति र पहिचानसंग संबन्धित सरोकारका विषयहरु मुल्यवान छ । त्यसको रक्षार्थ र उत्सवका लागि बिदा  हुनु अपरिहार्य छ । तर त्यो बहानामा सबैलाई एउटै डालोमा हालेर एकमुष्ट बिदा दिईनु हुंदैन । उक्त जाती वा समुदाय विशेषलाई मात्रै बिदा दिंदा पुग्छ जसबाट विद्यालयहरु बन्द नहुन , सार्वजनिक कार्यालयहरु बन्द नहुन ।

अब सबै सार्वजनिक बिदाहरुको बारेमा पुनर्विचार गरेर घटाउने बेला आएको छ । अस्थिर राजनैतिक चरित्र , दुर्घटना एवं  अन्य बहानामा हुने बन्दबाट उपभोक्ता , सेवग्राही , विद्यार्थी हरेकलाई नोक्सान छ । यो संगै सरकारी बिदाका कारण सरकारी कार्यालयका सेवाग्राही , विद्यार्थीलाई थप नोक्सान पुगिरहेको छ । यो परिस्थितिलाई बुझ्दै कम्तिमा सरकारी बिदाहरु घटाए राम्रो हुनेछ । ४ मंसिर , शुक्रवार ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.