दलित भएकै कारण डेराबाट निकाल्ने घरधनी पक्राउ

घर धनि 
विराटनगर,१८ कात्तिक ।
दलित भन्दै भाडावाललाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पती पक्राउ परेका छन् । दलित भएकै कारण बेइज्जतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ४२ वर्षीय श्याम भण्डारी र उनकी पत्नी ४० वर्षीया शर्मिला भण्डारी पक्राउ परेका हुन् ।

उनीहरूले भाडावाल शान्ति गजमेर (विश्वकर्मा)को परिवारलाई सानो जातको भन्दै बेइज्जतीपूर्ण ढंगले घरबाट निकालेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीले दलितमाथि जातीय छुवाछुत गर्ने भण्डारी दम्पतीलाई पीडितको जाहेरी दर्ता गरेपछि पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार भण्डारी दम्पतीलाई जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार अदालतमा मुद्दा दर्ता हुनेछ ।

घटनाअनुसार दसैँअघि नै घरधनी भण्डारी र भाडावाल शान्ति गजमेरबीच कोठा भाडा दिने–लिने पक्का भएको थियो । सोहीअनुसार शान्तिले भण्डारीको घरमा भाडा लिएको दुई कोठामा कार्पेट बिछ्याएर सामान सार्न थालेकी थिइन् । तर, नयाँ भाडावाल दलित समुदायको हो भन्ने थाहा पाएपछि घरधनी भण्डारीले ‘आमाको रुद्री पढ्ने कोठा हो, भाडा लगाउँदिन’ भन्दै १६ कात्तिक सोमबार राति कोठा नदिने भन्दै सामान लैजान धम्क्याएका थिए । राति भएकाले भाडावाल शान्ति सामान लिन जान सकिनन् । तर, घरधनी भण्डारीले अछुतको सामान भन्दै राति नै कार्पेट र अन्य सामान कोठाबाट निकालेर फ्याँकिदिए । बिहान घरधनीसँग कुरा गर्न पुगेकी गजमेरले कोठाभित्र राखेको सामान बाहिर फ्याँकेको देखेपछि अपमानित महसुस गर्दै आफन्तजन र अधिकारकर्मीलाई गुहारेकी थिइन् ।

अधिकारकर्मीहरूको सहयोगमा भाडावाल गजमेरले घरधनी भण्डारीविरुद्ध जातीय छुवाछुत तथा कसुर सजाय ऐनअनुसार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीअनुसार प्रहरीले घरधनी भण्डारी र उनकी पत्नीलाई पक्राउ गरेको हो । सुरुमा प्रहरीले स्थानीयको दबाबमा भाडावाल र धरधनीबीच छलफल गराएको थियो । तर, भण्डारी परिवारले गजमेर परिवारलाई छुवाछुत नगरेको भन्दै माफीसमेत माग्न नचाहेपछि प्रहरीले भण्डारी दम्पतीलाई मंगलबार पक्राउ गरेको थियो ।

जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ अनुसार जातीय विभेद गर्नेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । नेपालको संविधान २०७२ मा पनि जातकै कारण निजी वा सार्वजनिक स्थानमा कुनै पनि कारणले जातीय भेदभाव गर्न नपाइने उल्लेख छ ।
- गणेश लम्साल , नयाँ पत्रीका

2 comments:

  1. आजको २१ सौं सताब्दीको सभ्य समाज मा पनि यस्तो मानिस-मानिस बीच भेदभाव गरेर तल्लो जात भन्दै डेरा बाट निकाल्ने कार्य अतिनै नराम्रो हो / यस्तो घरधनी लाई यसरि नै कानून लगाएमा मात्र देश भित्र चल्दै आएको जातिय विभेद कम हुँदै जानेछ / अन्यथा संबिधान र कानून मा जे सुकै लेखिए पनि समाज मा विद्यमान जातीय विभेद कायम नै रहने प्रबल सम्भावना छ /

    ReplyDelete
  2. ab yo sambandhi nepalko ke kanun chh ta ? feri kanun jatti bahun ra thula jatle nai banayaka hola aaflai chhelera ab kanun nai chaina bhane ta feri tyo ghar beti lai po apthyaroparne bho ta ? damaile jiuma chunu ta ke lattai lattale dida hunchh ,

    ReplyDelete

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.