सार्थक विहिन छुवाछुत मुक्तीको घोषणा - के घोषणा ?
कागजी पुस्तकको चौघेरा भित्र सिमीत छुवाछुत मुक्तिको घोषणा ९ वर्ष बितिसक्दा पनि कामी माईला , दमाई साईँला र मोटे सार्कीहरुको दिमागमा घुस्न सकेको छैन , अनुभूति को त कुरै छोडौँ ।
दलित भएकै कारण सार्वजनिक धारा छोएको निहुँमा पिटिनु परेको छ । सामाजिक बहिष्कारको सिकार हुनु परेको छ त अन्तर्जातिय विवाहको बहानामा परिवार,समाजबाट बहिस्कृत हुँदै गाउँ निकाला हुनु परेको छ , कहिँ डेराबाट निकालिनु परेको छ । यहि हो त छुवाछूत मुक्त राष्ट्र को परिभाषा ?
कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको यो विशाल समुदायको छाती टेकेर मन्त्री , सांसद , सभासद बनेका यिनै समुदायका प्रतिनिधि भनाउँदाहरुले कहिले , कतै केही गरेको उदाहरण छ ? अहँ छैन , गरेको भए पो होस । १/२ नेता बाहेक अरु सबै जसले यिनै वृहत समुदायको प्रतिनिधित्व गरेकाछन उनीहरुलाई आफ्नो भाइ,भारदार,आफन्त र पार्टीको मात्रै चिन्ता छ । समुदायको त नाम सम्म ओकल्न आनाकानी गर्छन तब कसरी हुन्छ व्यवहारमा छुवाछूतको मुक्ती ?
अनि यहि समुदायको हितमा काम गर्ने नारा अलाप्दै खोलिएका सयौं कथित अधिकारवादी संघ-संस्थाहरुको पनि के कुरा गरौं । विधानमा यो गर्छौं , त्यो गर्छौँ भनेर उद्देशहरु राखेका छन तर व्यवहारिकता घाम जस्तै छर्लङ्ग छ । सबै उस्तै भन्दा अन्याय हुन्छ मैले बुझेको छु । सबैलाई दोसारोप गर्न खोजेको बिल्कुल होईन तर अधिकांश , अझ भन्दा लगभग सबै नै यस्तै यस्तै छ्न । दु:ख लाग्छ । यस्तो बेला छुवाछूत मुक्ती को कुरा कसरी गरौँ । भन्नलाई त आजको दिन मुक्तिको दिन भन्नू पर्ने हो तर अझै भन्ने अवस्था आएको छैन । यस्तो दिनको शुभकामना दिनु बेकार छ । त्यसैले शुभकामना दिन्न । क्षमा चाहन्छु ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !