बहराईनमा नेपाली सांगीतिक साँझ-२०७२ हुँदै

३१ मे , युएई ।
गत वैशाख १२ गतेको महाभुकम्प प्रभावितलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले आगामी जुन १२ तारिख बहराईनमा विशेष सांगितिक कार्यक्रम हुने भएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा कार्यरत नेपाली युवाहरुको एउटा समुहले महाभुकम्प प्रभावितहरुका निम्ति राहत संकलन गर्न आगामी जुन १२ तारिख "नेपाली सांगीतिक साँझ-२०७२" आयोजना गर्ने भएको हो ।

बहराईनको राजधानी मनामा स्थित डेल्मन ईन्टरनेशनल होटलमा आयोजना गरिने उक्त विशेष सांगीतिक कार्यक्रम बहराईनमा कार्यरत दिपक घिमिरे,अर्जुन दुलाल सहितको टोलिले आयोजना गर्न लागेको हो । नेपालका नाम चलेका राष्ट्रिय कलाकारहरु संगितकार महेश खड्का , गायकहरु प्रमोद खरेल , रामजी खाँण र हट गायिका ज्योती मगर लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक  अर्जुन दुलालले बताए ।

कार्यक्रमलाई भव्य र सफल बनाउन आयोजक समुह निक्कै सक्रियता पुर्वक तयारीमा जुटेको कार्यक्रमको संयोजन गरिरहेका  दिपक घिमिरेले बताए । आगामी जुन १२ तारिख साँझ ६ बजेबाट संचालन हुने कार्यक्रममा सहभागी हुन प्रती व्यक्ति ५ बहराईन डलर बराबर टिकटको व्यवस्था गरिएको र उक्त टिकट बिक्रीबाट संकलित रकम भुकम्प पीडितलाई राहत स्वरुप प्रदान गरिने समेत घिमिरेले  जानकारी दिए ।

विनाशकारी दैवीप्रकोपबाट आफन्त गुमाएका र घरबार विहिन भएकाहरुको दु:खमा सहयोग गर्नु सम्पुर्ण  देशभक्त नेपालीको कर्तव्य र उत्तरदायित्व भएको आयोजकले जनाएको छ । साथै सम्पुर्ण बहराईनवासि नेपालीहरुलाई यो कार्यक्रममा सहभागी भई मनोरञ्जनका साथै नेपाल र नेपालीको आँसु पुछ्ने मानवीय कार्यमा सहभागी भई दिन आग्रह समेत गरेको छ । 

(बहराईनबाट जानूका कार्किको सहयोगमा)

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.