२०७२ सालमा यस्तो छ तपाईंको राशिफल
मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
वर्षको सुरुमा बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ। परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। तर, आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा विशेष छात्रवृत्ति र अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् र आर्थिक उपार्जनमा सुधार आउनेछ। कष्टस्थानमा शनिको उपस्थितिले नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्या आउन सक्छ। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। पुस र माघ महिनामा शत्रुहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। यो वर्ष घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। वर्षभरि शनिबार पीपलमा जल चढाउनाले र गणेश, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ। असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना भने अलि प्रतिकूल रहनेछन्।
वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
वर्षको सुरुमा आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ। उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। असार २५ पछि बृहस्पतिको स्थानान्तरणले केही समस्या आउन सक्छन्। बुद्धि–विवेकको उपयोग गर्न नसकिएला। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ। पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ। व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। कृषिमा लागत बढे पनि उत्पादनमा वृद्धि हुनेछ। पेटको समस्याले वर्षभरि नै सताउन सक्छ, यो वर्ष चरित्रमा दाग लाग्न सक्छ, सचेत रहनुपर्नेछ। लामो समय पत्नी र सन्तानलाई तथा वर्षको अन्त्यमा आमालाई पीडा हुने देखिन्छ। समस्याबाट मुक्तिका लागि सभक्ति बृहस्पति, र राहुको मन्त्रजप तथा बगलामुखी, काली र बटुक भैरवको पूजा–उपासना गर्नुपर्दछ।
साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ। वैशाख, भदौ र मंसिर महिना प्रतिकूल रहनेछन्।
मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। शनिदेवको अनुकूलताले शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ। तर, असार २५ पछि परिस्थिति कमजोर बन्नेछ। माघ २ गतेसम्म गुहसुखमा रहने राहुले पारिवारिक असमझदारी, मातालाई पीडा, जग्गाजमिनमा विवाद, पशुधन हानि, आत्मीयजनसँग बिछोड, मित्रजनसँग मनमोटाव जस्ता समस्या आउन सक्छन्। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। पेट र छातीसम्बन्धी समस्याले पनि सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। प्रयत्न गर्दा विशेष छात्रवृत्ति र अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।विधिपूर्वक छिन्नमस्ता भगवती र बटुक भैरवको पूजा–उपासना गर्नाले, राहुको मन्त्रजप, अनुष्ठान गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ।
वैशाख, भदौ, मंसिर र चैत महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना अलि कष्टदायक रहनेछन्।
कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ। धेरै रोकिएका काम बन्नेछन्। घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन्। शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। यस्तै नोकरीमा पदोन्नति, अनुकूल स्थानप्राप्ति वा नयाँ रोजगारको अवसर मिल्नेछ। मानसम्मान समेत पाइने वर्ष छ। व्यापार–व्यवसायमा उन्नति हुनेछ। आयआर्जनका नया“ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ। स्थायी सम्पत्तिको बेचबिखनबाट प्रशस्त लाभ मिल्नेछ। राहुको अनुकूलताले नया“ उद्योग–धन्दा थालनी गर्न सकिनेछ। काम गर्ने हिम्मत बढ्नेछ। तर, दाजुभाइमा असमझदारी बढ्न सक्छ। माघ २ देखि राहु र केतुको स्थानान्तरणले चल–अचल सम्पत्तिमा विवाद, मानहानि एवं दाँत, आँखा र मलद्वारमा कमजोरी निम्त्याउने देखिन्छ। पेटमा शनिदेवको उपस्थितिले यदाकदा पेटको समस्या र पढाइलेखाइमा आलस्य हुने योग छ। सन्तानका बारेमा पनि चिन्ता बढ्नेछ। काली भगवती, छिन्नमस्ता र वटुक भैरवको उपासना गर्नाले फाइदा होला।
वैशाख, जेठ, असोज, पुस महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि कष्टदायी रहनेछन्।
सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
वर्षको सुरुमा बृहस्पतिको प्रभावले टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च गरिनेछ। तर, साथसाथै पढाइलेखाइ अवरुद्ध बन्ने, व्यवसायमा हानि, रोजगारीमा बाधा प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ। शनिको प्रभावले अन्यायमा परिने योग छ। विश्वासमा पारेर फसाउनेहरूले सताउनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ। एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। सानो त्रुटिले वर्षभरि दुःख पाइने योग छ। परिस्थिति प्रतिकूल बन्ने समय भएकाले संयमित भएर व्यवहार गर्नुहोला। जन्मकुण्डलीमा राहु र शनि प्रतिकूल हुनेहरूलाई थप बाधा हुन सक्छ। तर, दुवै अनुकूल हुनेहरूलाई फाइदै हुनेछ। विधिपूर्वक बगलामुखी, काली र छिन्नमस्ता भगवती तथा बटुक भैरवको पूजा–उपासना गर्नाले, बृहस्पति–शनि–राहुको मन्त्रजप गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ। शनिबार पीपलमा जल चढाई विष्णुको पूजा गर्नाले पनि समस्याबाट मुक्त रहन सकिनेछ। कात्तिक, माघ, जेठ, असार महिनामा बढी फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना प्रतिकूल रहनेछन्।
कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
वर्षको सुरुआत फाइदाजनक रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। घरमा माङ्गलिक कार्य सम्पादन होलान्।प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ। नोकरीततर्फ हुनेहरूका लागि अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। असार २५ पछि बृहस्पतिको प्रभावले काम रोकिने, पढाइमा बाधा, सञ्चित धन खर्च हुने र कर्जा बढ्ने देखिन्छ। जन्मराशिमा रहेका राहुले शिरमा पीडा, उच्च रक्तचाप, मस्तिष्क र गुप्ताङ्गमा समस्या, अधैर्यपना र विवेकहीनता बढाउने सम्भावना छ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। पति/पत्नीबीच असमझदारी बढ्नेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। तापनि, शनिदेवको अनुकूलताले वर्षभरि सहयोगीहरूले साथ दिनेछन्। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। शिवपूजा, वटुक भैरव, छिन्नमस्ता र बगलामुखीको पूजा-आराधना तथा राहु, केतु र बृहस्पतिको मन्त्रजप गर्नाले शुभ हुनेछ। असार, साउन, मंसिर, फागुन महिनामा बढी फाइदा हुनेछ। वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन्।
तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
यो वर्षको सुरुमा ग्रहहरू प्रतिकूल भएकाले बाध्यात्मक परिस्थितिमा अल्झनुपर्नेछ। स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् र विश्वासपात्रले धोका दिनेछन्। धनस्थानका शनि र खर्चका राहु चुनौतीका कारक बन्नेछन्। बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। पिताको बारेमा चिन्ता बढ्नेछ। लगनशील विद्यार्थीका लागि मात्र यो वर्ष फलदायी रहनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले रोकिएका काम बन्नेछन् र गुमेको स्थान मिल्नेछ। बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। र, टाढिएका आफन्तहरू पनि नजिकिनेछन्। वर्षभरि शनिको अन्त्य साढेसाती चल्नेछ। जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई राम्रो फाइदा हुनेछ र प्रतिकूल हुनेहरूलाई विभिन्न विघ्नबाधा आइपर्नेछन्। माघ २ गतेसम्म राहुको कारणले अनियन्त्रित खर्च भइरहनेछ। पाउमा पीडा र यात्रामा हानि हुनेछ। विधिपूर्वक शनि र राहुको मन्त्रजप, काली र बटुक भैरवको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुनेछ।
तुलनात्मक रूपमा साउन, भदौ, पुस र चैत महिनामा सफलता मिल्नेछ। जेठ, असोज र माघ महिना अशुभ रहनेछन्।
वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
काममा दुःख भए पनि वर्षको सुरुमा राम्रै उपलब्धि हातलागी हुनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय कृत्य सम्पादन गरिएला। मानसम्मान पाइनेछ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक भ्रमण वा अध्ययन गर्न विदेश जाने मौका आउलाा। आम्दानीको क्षेत्रमा बसेका राहुले ठेकेदारी, सट्टापट्टा र प्राविधिक कामहरूबाट फाइदा दिलाउनेछन्। अतिरिक्त आम्दानी बढ्नेछ। तर, शिरमा बसेका शनिको मध्य साढेसाती समय भएकाले वर्षभरि अनेक झमेला समेत आइलाग्नेछन्। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई चिन्ता, कष्ट, जरिवाना, अभाव जस्ता समस्या आउलान्। विभिन्न लाञ्छना लाग्ने र गल्तीबिनै सजायको भागीदार बन्नुपर्ने परिस्थिति आउला। असार २५ पछि बृहस्पतिको प्रतिकूलताले पढाइलेखाइ र काममा बाधा होला। माघ २ पछि झुटा आरोप लाग्नुका साथै नोकरीमा पनि अप्ठ्यारो पर्न सक्छ। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ला। विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले तपाईंलाई फाइदा हुनेछ। तपाईंलाई वैशाख, भदौ, असोज र माघ महिना बढी लाभदायी रहनेछन् भने असार, कात्तिक र फागुन महिनामा अलि हानि हुनेछ।
धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
वर्षको सुरुवात त्यति अनुकूल देखिन्न। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। विरोधीहरूले टाउको उठाउन सक्छन्। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। असार २५ देखि बृहस्पतिले भाग्यलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विभिन्न मंगलमय कृत्य सम्पादन हुनेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सहपाठीहरूलाई उछिन्न सकिनेछ। शनिको आद्य साढेसातीले जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई वर्षभरि मानसिक पीडा, कष्ट, जरिवाना, बदनामी, बन्धन जस्ता विघ्नबाधा समेत आउन सक्छन्। माघ २ गतेसम्म कर्मवृत्तिमा राहुको उपस्थितिले कामको सही मूल्यांकन नहोला। जस नपाइने, अधिकारीवर्गसँग सम्बन्ध बिग्रने र कलंक लाग्ने सम्भावना छ। सुखस्थानका केतुले पनि विपत्ति निम्त्याउने योग छ। विधिपूर्वक काली भगवती र वटुक भैरवको उपासना, राहु र शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। शुक्ल पञ्चमीमा नागको पूजा गर्दा पनि फइदा होला।
तुलनात्मक रूपमा जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहनेछन्। साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।
मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले कामहरू सजिलै बन्नेछन् र उत्साह पनि बढ्नेछ। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ। घरमा मांगलिक कार्य सम्पन्न हुनेछन्। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ। तर्कशक्ति बढ्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई पनि समय निकै अनुकूल देखिन्छ। शनि र केतुसमेत अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट पनि फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन लगायत भौतिक वस्तुहरू प्राप्तिको योग छ। असार २५ देखि बृहस्पति कष्टस्थानमा जाने हुनाले स्थिति अलि कमजोर बन्नेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। शिवजी, बगलामुखी र बटुक भैरवको उपासना गर्नाले फाइदा भइरहनेछ।
असार, कात्तिक, मंसिर र चैत महिनामा बढी लाभ हुनेछ। वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।
कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
वर्षको सुरुमा आर्थिक अभावले सताउनेछ। विशवासपात्रले धोका दिनेछन्। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। विभिन्न अवसरले पछ्याउनेछन्। दीर्घकालसम्म फाइदा हुने योजना सुरु हुनेछन्। मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध स्थापित वा प्रगाढ हुने समय छ। सन्तान र जीवनसाथीको सहयोगले काम सजिलै बन्नेछन्। फलदायी यात्रा हुनेछ र काममा थप उत्साह जाग्नेछ। तर, कष्टस्थानमा राहुको उपस्थितिले विभिन्न बाधाहरू पनि आइपर्नेछन्। कब्जियत वा मलद्वारसम्बन्धी रोगले सताउला। खराब आचरण भएकाहरूको संगत बढ्ने वा कुलतमा परिने सम्भावना छ, सचेत रहनुहोला। माघ २ पछि पतिपत्नीमै असमझदारी बढ्ने योग छ। यो वर्ष प्रतिकूलताबाट मुक्ति पाउन राहु र केतुको मन्त्रजप गर्नाले, छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्नाले लाभ मिल्नेछ। शिवजी र नागको पूजा गर्दा पनि फाइदा हुनेछ। वैशाख, साउन, मंसिर र पुस महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना प्रतिकूल रहनेछन्।
मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
बृहस्पतिको अनुकूलताले वर्षारम्भ उत्साहवर्द्धक देखिन्छ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ। कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मन प्रसन्न रहनेछ। असार २५ पछि शत्रुस्थानमा बृहस्पतिको गोचरले परिस्थिति अनायासै बिग्रनेछ। काममा अवरोध गर्नेहरूले सताउने भएकाले महत्वपूर्ण योजना गोप्य राख्नुहोला। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। शनि र राहुसमेतको गोचरीय स्थिति विचार गर्दा पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता, झुटा आरोपजस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ। नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउन सक्छ। श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। वैदेशिक रोजगारीमा पनि केही समस्या आउनेछन्। बटुक भैरव, बगलामुखी र छिन्नमस्ता भगवतीको पूजा-उपासना गर्नाले प्रतिकूल समयमा पनि फाइदा पुग्नेछ । जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन्।
- दैनिक नेपाल डटकमबाट साभार
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !